रसुवा बाढीले ४ खर्बभन्दा बढीको क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

1k Shares

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। गत १० भदौमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। प्रभावितको खोज, उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको छ।

बाढीले ७ हजार ५७० निजी घर क्षतिग्रस्त बनाएको छ। त्यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना पनि प्रभावित भएका छन्।

सडकतर्फ ६९ किलोमिटर सडकखण्डमा क्षति पुगेको छ भने ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन्। ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। बाढीका कारण करिब ८ हजार ३०० घरपरिवारका करिब ४० हजार मानिस प्रभावित भएका छन्। कृषि क्षेत्रमा मात्रै १ हजार ८०६ हेक्टर बालीमा क्षति पुगेको छ।

रेडक्रसको मानवीय सहायता जारी

बाढी आएलगत्तै नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै खोज, उद्धार तथा राहतमा स्वयंसेवक परिचालन गरेको थियो। अन्तर्राष्ट्रिय महासंघको आपत्कालीन सहयोग कोषमार्फत १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति दिइएको थियो।

एक महिनाको अवधिमा रेडक्रसले आवास तथा गैरखाद्य सामग्रीका १ हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरेको जनाएको छ। करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्रीसमेत उपलब्ध गराइएको छ।

त्यस्तै २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट १ हजार ७१० जना र आपत्कालीन स्वास्थ्य क्लिनिकबाट १ हजार २३९ जना लाभान्वित भएका छन्। परिवार पुनर्मिलन तथा सम्पर्क पुनर्स्थापनाका लागि २ हजार २९१ खोजतलाससम्बन्धी घटनामा सेवा तथा सहजीकरण गरिएको रेडक्रसले जनाएको छ।

बाढी प्रभावित समुदायको तत्काल आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोगसमेत उपलब्ध गराइएको छ। साथै १ हजार १८९ बालबालिकालाई बालमैत्री सुरक्षित स्थानमार्फत सेवा प्रदान गरिएको छ।

पुनर्निर्माण अझै ठूलो चुनौती

बाढीपछि तत्कालीन खोज, उद्धार र राहतसँगै अब प्रभावित क्षेत्रलाई पुनःस्थापित गर्ने चुनौती थपिएको छ। क्षतिग्रस्त सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऊर्जा आयोजनाको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ।

रेडक्रसले प्रभावित परिवारको आवश्यकता र प्राथमिकताका आधारमा आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा पुनःस्थापना र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

भोटेकोसीमा आएको बाढीको एक महिना बितिसक्दा पनि बेपत्ता भएकाको खोजी, प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण जारी छ। ठूलो मानवीय क्षति र अर्बौं रुपैयाँको भौतिक क्षतिले विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन चुनौतीका रूपमा अघि सारेको छ।

सम्बन्धित समाचार