चितवन । सम्भावित विपद् तथा प्राकृतिक प्रकोपबाट नागरिकको जनधनको सुरक्षा गर्न चितवन प्रहरीले पूर्वतयारी तीव्र बनाएको छ। वर्षायाममा हुनसक्ने बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै प्रहरीले आवश्यक सुरक्षा तथा उद्धार तयारी अघि बढाएको हो।
जिल्लाका जोखिमयुक्त क्षेत्रको पहिचान गरी त्यस्ता स्थानमा प्रहरीको निगरानी बढाइएको छ। विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी प्रहरी जनशक्ति तथा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय स्वयंसेवक तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी विपद् व्यवस्थापनको तयारी गरिरहेको छ। जोखिमयुक्त क्षेत्रमा सूचना संकलन तथा अवस्थाको नियमित अनुगमनलाई समेत प्राथमिकता दिइएको छ।
बाढी, पहिरो वा डुबानको अवस्था देखिएमा तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने गरी प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ। सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउने र आपत्कालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने कामलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ।
प्रहरीले विपद्का बेला नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरेको छ।
चितवन प्रहरीले विपद्पछि मात्र उद्धारमा जुट्नेभन्दा विपद् आउनुअघि नै जोखिम न्यूनीकरण र नागरिक सुरक्षाका लागि तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले काम गरिरहेको जनाएको छ।