वर्षा रोकिएसँगै कुलेखानी जलाशयको पानी घट्न थाल्यो

1.2k Shares

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानी संकलन हुने दर घट्दै गएको छ। कुलेखानीको जलाधार क्षेत्रमा वर्षा कम भएसँगै जलाशयमा पानी थपिने क्रम पनि घटेको हो।

शनिबार बिहानसम्म जलाशयको पानीको सतह १ हजार ५ सय २३ दशमलव ९३ मिटर पुगेको छ। जलाशय पूर्ण रूपमा भरिन अझै करिब ६ मिटर ७ सेन्टिमिटर बाँकी रहेको आयोजनाले जनाएको छ।

यसअघि बिहीबारदेखि जलाधार क्षेत्रमा वर्षा भएपछि जलाशयमा पानीको सतह तीव्र रूपमा बढेको थियो। शुक्रबार बिहान केही समयमा पानीको सतह प्रतिघण्टा करिब १० सेन्टिमिटरका दरले बढेको थियो। पानीको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिटबाट विद्युत् उत्पादनसमेत भइरहेको थियो।

जलाशयमा पानीको सतह व्यवस्थापन गर्न आयोजनाले विद्युत् उत्पादनलाई निरन्तरता दिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तटीय क्षेत्रमा साइरनको व्यवस्था गरिएको छ भने आवश्यक परे स्थानीयलाई पूर्वसूचना दिने तयारी पनि गरिएको छ।

कुलेखानी जलाशयलाई नेपालको विद्युत् प्रणालीको महत्वपूर्ण ‘ब्याकअप’ स्रोतका रूपमा लिइन्छ। जलाशयमा संकलित पानीबाट कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय जलाधार क्षेत्रमा वर्षा रोकिएपछि भने जलाशयमा पानी थपिने क्रम सुस्त भएको हो।

आयोजनाले जलाशयको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ। जलाधार क्षेत्रमा फेरि वर्षा भए पानीको सतह बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्बन्धित निकायबाट जारी हुने सूचना तथा मौसमसम्बन्धी जानकारीमा ध्यान दिन आग्रह गरिएको छ।

सम्बन्धित समाचार