पर्यटकलाई नेपाल भ्रमणको निम्तो : नाट्टाले गर्‍यो दुईदिने विशेष अभियान

1.5k Shares

काठमाडौँ । नेपालको पर्यटन क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।

४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टाले विभिन्न गतिविधिसहित विशेष कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमअन्तर्गत नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा अभियान सञ्चालन गरिएको नाट्टाले जनाएको छ।

पर्यटनसँगै वातावरण संरक्षण र सम्पदा प्रवर्द्धनलाई जोड दिँदै आयोजना गरिएको अभियानमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिको सहभागिता रहेको छ।

यसैगरी, कार्यक्रमको दोस्रो दिन काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ आयोजना गरिने भएको छ। दौडमा पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरू सहभागी हुने जनाइएको छ।

नाट्टाले यस्ता गतिविधिमार्फत नेपालका पर्यटकीय गन्तव्य, सम्पदा र पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि निम्तो दिने उद्देश्य राखेको जनाएको छ।

सम्बन्धित समाचार