मनसुनी वायु र न्यूनचापीय क्षेत्रको प्रभाव, कहाँ–कहाँ हुँदैछ भारी वर्षा?

1.7k Shares

काठमाडौं ।  देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ। जसका कारण आइतबार देशका अधिकांश भूभागमा बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ।

सुदूरपश्चिमका तराईका धेरै स्थान, लुम्बिनीका तराईका केही स्थान तथा बागमती र गण्डकीका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेशका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार