काठमाडौँ । रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि गरिएको खोज तथा उद्धार अभियानमा सुरुङभित्रको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण अध्याय रहेको नेपाली सेनाले जनाएको छ।
बाढीपछि एक महिनासम्म सञ्चालन गरिएको खोज, उद्धार, स्वास्थ्य सेवा र पूर्वाधार पुनर्स्थापनासम्बन्धी विवरण सार्वजनिक गर्दै सेनाले यस्तो जनाएको हो।
सेनाका अनुसार प्रतिकूल मौसम, साँघुरो पहाडी उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानका बीच उद्धार अभियान सञ्चालन गरिएको थियो।
बाढीको सूचना पाएलगत्तै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत क्षेत्रमा तैनाथ सैनिक टोली उद्धारमा परिचालन भएका थिए। अभियानका क्रममा ९ हजार ३०० भन्दा बढी सैनिक खटाइएको सेनाले जनाएको छ। खोज तथा उद्धारका लागि क्विक रियाक्सन तथा आपत्कालीन मेडिकल टोलीसहित हेलिकोप्टर परिचालन गरिएको थियो।
सडक सञ्जाल अवरुद्ध भएपछि हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो। एमआई–१७ लगायत सातवटा सैनिक हेलिकोप्टर तथा निजी हवाई साधन परिचालन गरी त्रिशूली र धुन्चेमा आधार स्थापना गरिएको थियो।
दैनिक १५ देखि २२ वटासम्म हेलिकोप्टर उडानमार्फत कुल १ हजार ६०० भन्दा बढी उडान भएको सेनाको विवरणमा उल्लेख छ। हवाई उद्धारबाट ४ हजार २४२ जनाको सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ३ हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक रहेको सेनाले जनाएको छ।
जमिनतर्फ पनि नदी किनार, जंगल, डाँडाकाँडा र बाढी प्रभावित बस्तीमा निरन्तर खोजी गरिएको थियो। थर्मल ड्रोनसहितका आधुनिक उपकरण प्रयोग गरी सम्भावित स्थानको रेकी गरिएको थियो। उत्खनन तथा खोजीका क्रममा फेला परेका १ हजार ४५१ शवको व्यवस्थापनमा सेनाले सहयोग गरेको जनाएको छ।
सेनाले भोटेकोशी विपद् प्रतिकार्यको सबैभन्दा जटिल काम जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धारलाई मानेको छ।
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत अवरोध हटाएर अक्सिजन पम्प गरिएको थियो। यस क्रममा भदौ १९ गते सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट सुरुङमा करिब २२५ मिटर गहिराइसम्म पुगेर रबर बोट र थर्मल क्यामेराको प्रयोग गरिएको थियो। त्यहाँबाट एक चिनियाँ नागरिकको जीवित उद्धार गरिएको तथा ३७ वटा शव संकलन गरिएको विवरण सेनाले दिएको छ।
खोज तथा उद्धार टोलीले करिब १ हजार ५० मिटर वैकल्पिक बाटो खोलेर चिलिमे सुरुङमा ब्रेकथ्रु गरेको थियो। त्यहाँबाट पाँचवटा शव तथा मानव अङ्ग संकलन गरिएको थियो। रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उत्खनन तथा खोजी गरिएको सेनाले जनाएको छ।
सेनाका अनुसार जलविद्युत् आयोजनाका सुरुङबाट बाढीको लेदो र चट्टानले पुरिएका सात जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको थियो। कतिपय सुरुङमा करिब १७० मिटर गहिराइसम्म पुगेर उद्धार कार्य गरिएको थियो।
खोज तथा उद्धारसँगै सेनाले बाढी प्रभावितका लागि त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरेको थियो। यसबाट ४ हजार ३ जनाले प्रत्यक्ष चिकित्सा सेवा पाएको सेनाले जनाएको छ।
विस्थापितका लागि अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा दिइएको थियो भने महामारीको जोखिम कम गर्न स्थानीय तहसँगको समन्वयमा निःसंक्रमण अभियान पनि सञ्चालन गरिएको थियो।
पूर्वाधार पुनर्स्थापनातर्फ नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासपछि जडान गरिएको थियो। उक्त पुल भदौ २५ देखि सञ्चालनमा आएको सेनाले जनाएको छ। स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिएको थियो भने बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि बाटो खोल्ने काम अघि बढाइएको थियो।
सेनाले भोटेकोशी बाढीले विपत् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको जनाएको छ।
उद्धारमा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह र स्थानीय समुदायबीचको समन्वय महत्त्वपूर्ण रहेको सेनाको निष्कर्ष छ।