काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने हुन्छ। प्रतिपदा तिथिको पिण्डदान भने अपराह्नपछि गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्झिँदै तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।
वैदिक सनातन हिन्दू परम्परामा चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झिने चलन छ। सोह्र श्राद्धमार्फत पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध छोड्न नहुने उनको भनाइ छ।
कारणवश आफ्नो पिताको तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रले वैकल्पिक व्यवस्था पनि गरेको धर्मशास्त्रविद्हरू बताउँछन्। त्यस्तो अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था छ।
उक्त अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने बताइएको छ। त्यस दिन पनि सम्भव नभए वृश्चिक संक्रान्ति अर्थात् मंसिरसम्म जुराएर गर्न सकिने व्यवस्था धर्मसिन्धुमा उल्लेख रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
त्यसैगरी आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन पनि रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको भट्टराईले बताएका छन्।
यी सबै विकल्पबाट पनि श्राद्ध गर्न नसकिएमा आफूले वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने व्यवस्था रहेको बताइएको छ। यस्तो विधि १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ।
धर्मशास्त्रविद्हरूले पिताको तिथिमा अपराह्नकाल पारेर श्राद्ध गर्नुपर्नेमा जोड दिएका छन्। कतिपय पुरोहितले आफूअनुकूल बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको भए त्यो शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहँदै आएको छ। यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व केही पछि सरेका हुन्।