बुटवल — लगातारको वर्षापछि आएको बाढीका कारण तिनाउ नदीमा पानीको बहाव बढ्दा बुटवल उपमहानगरपालिका–११ को टप मझुवा क्षेत्रमा ६ वटा घर बगेका छन्।
बस्तीलाई बाढीबाट जोगाउन निर्माण गरिएको तटबन्ध भत्काउँदै नदीले बस्तीमा प्रवेश गरेपछि ती घर बगाएको हो।
बाढीको जोखिम बढेपछि प्रहरीले राति नै टप मझुवा, प्रगतिनगर, हात्तीसुढ तथा युद्धनगरलगायत क्षेत्रका करिब २०० घरपरिवारका एक हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।
प्रहरीका अनुसार बाढीका कारण हालसम्म मानवीय क्षति भएको छैन। आइतबार बिहान तिनाउ नदीको बहाव केही घटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीको बहाव शनिबार राति ८ बजेदेखि नै सतर्कताको तह पार गर्दै खतराको तहमा पुगेको थियो। आइतबार बिहान नदीको बहाव ६.५८ मिटर मापन गरिएको महाशाखाले जनाएको छ।
लगातारको वर्षा र नदीको बहावका कारण तिनाउ आसपासका बस्तीमा जोखिम अझै कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।