टेकु पुगेको मानव अधिकार आयोगको टोलीले चोलेन्द्रलाई भेट्न पाएन

953 Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली भेट गर्न नपाई फर्किएको छ।

आयोगको टोली चोलेन्द्रलाई भेट्न अपराध अनुसन्धान कार्यालय टेकु पुगेको थियो। तर प्रहरीले उनलाई भेट्न अनुमति नदिएपछि टोली करिब ४५ मिनेटपछि फर्किएको हो।

जबरालाई प्रहरीले आइतबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको जानकारी पाएपछि राति नै कार्यालयमा ल्याइएको हो।

प्रहरीले जबरालाई नियन्त्रणमा लिनुअघि अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ। उनलाई प्रहरीले कसैलाई भेट्नसमेत नदिएको उनका निकट स्रोतको भनाइ छ।

यसैबीच, जबराको मानव अधिकारको अवस्था तथा उनलाई राखिएको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोली भेटका लागि पुगेको थियो। तर आयोगका प्रतिनिधिले जबरासँग प्रत्यक्ष भेट गर्न पाएनन्।

जबराको गिरफ्तारीको विषयमा यसअघि नै प्रश्न उठिरहेको अवस्थामा मानव अधिकार आयोगको टोलीलाई समेत भेट गर्न नदिइएपछि घटनाबारे थप चासो बढेको छ। पछिल्लो घटनाक्रममा जबरालाई नियन्त्रणमा लिने कानुनी आधार, सुरक्षा जोखिमको कारण तथा भेटघाटमा लगाइएको प्रतिबन्धबारे प्रश्न उठेका छन्।

यसअघि नेपाली कांग्रेसले पनि जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा, कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गरिसकेको छ।

सम्बन्धित समाचार