काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।
नेपाल टेलिकमका अनुसार असोज ८ गतेदेखि भइरहेको निरन्तर वर्षा र हावाहुरीका कारण देशका विभिन्न क्षेत्रमा सेवा अवरुद्ध भएको हो। भारी वर्षा तथा पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्नसमेत कठिनाइ भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अप्टिकल फाइबरमा क्षति पुग्नु, विद्युत् आपूर्तिमा अवरोध हुनु तथा हिमपात, वर्षा र बाक्लो बादलका कारण सोलार साइटको प्रभावकारिता घट्नुले सेवा सञ्चालनमा थप समस्या भएको छ।
प्राविधिक रूपमा प्रणालीबाटै समाधान गर्न सकिने मर्मतसम्भारका काम भने निरन्तर भइरहेको नेपाल टेलिकमले जनाएको छ। सम्भव भएका स्थानमा सेवा मर्मतको काम भइरहेको र मौसममा सुधार आएसँगै क्षति पुगेका कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने तयारी गरिएको कम्पनीको भनाइ छ।
प्राकृतिक विपद्का कारण सडक तथा यातायात अवरुद्ध भएकाले प्रभावित स्थानमा प्राविधिक टोली पुग्न चुनौती देखिएको छ। यसअघि पनि बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा टेलिकमका टावर, अप्टिकल फाइबर तथा विद्युत् संरचनामा क्षति पुग्दा सेवा प्रभावित भएको थियो।
नेपाल टेलिकमले सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति क्षमायाचना गर्दै कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति आभार व्यक्त गरेको छ। मौसममा सुधार हुनेबित्तिकै प्रभावित क्षेत्रमा मर्मत कार्यलाई तीव्रता दिने कम्पनीले जनाएको छ।