काठमाडौं । पछिल्ला चार दिनमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मृत्यु हुनेमा पाल्पा, सिराहा, सुर्खेत, रोल्पा, बागलुङ, रुकुम पश्चिम, काभ्रेपलाञ्चोक र मकवानपुरका नागरिक छन्। असोज ९ गते पाल्पाकी एक महिला पहिरोमा परी बेपत्ता भएकी छन्।
अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा रुख ढलेका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्राधिकरणले सर्वसाधारणलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बागमती प्रदेशका विभिन्न प्रमुख सडक बाढी र पहिरोका कारण प्रभावित भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानीमा पहिरो खसेको छ भने चितवनको धारापानीमा सडक भासिएपछि यातायात ठप्प भएको छ।
कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका छन्। मकवानपुरको खहरे खोल्सामा लेदो आएपछि सडक अवरुद्ध भएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशीमा सडक कटान तथा पहिरोका कारण यातायात प्रभावित भएको छ। सिन्धुलीको बालुवामा बाढीले बाटो अवरुद्ध गरेको छ।
रसुवागढी, त्रिशूली–मैलुङ तथा काठमाडौं जोड्ने सडकखण्डमा पनि बाढीका कारण सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बागलुङका विभिन्न सडक पहिरोका कारण प्रभावित भएका छन्।
मन्थली–खुर्कोट, चामे–बेँसीसहर, जोमसोम–कोरला तथा बेनी–जोमसोम सडकखण्डमा पहिरोका कारण आवागमन बन्द भएको छ। डुम्रे–बेँसीसहर र बेँसीसहर–मनाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसीखोला, बडिगाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ। पर्वतको तमादी खोलामा भने पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोरका राक्से, सिस्नेभिर र तल्लोखादमा पहिरोले सडक अवरुद्ध गरेको छ। कर्णाली राजमार्गअन्तर्गत कालिकोटका विभिन्न स्थान तथा राप्ती राजमार्ग र भेरी करिडोरमा पनि पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।
अवरुद्ध राजमार्ग तथा सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।