पृथ्वी र बीपी राजमार्गमा पहिरोको अवरोध, यात्रामा अझै कठिनाइ

1.1k Shares

काठमाडौं । अविरल वर्षाका कारण पहिरो र बाढीले अवरुद्ध बनेका प्रमुख राजमार्गमा सडक खुलाउने काम तीव्र पारिएको छ। विभिन्न स्थानमा ठूलो परिमाणमा पहिरो खसेका कारण यातायात सञ्चालन प्रभावित बनेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो मात्रामा लेदोसहित पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने बताइएको छ।

कृष्णभिरमा खसेको पहिरो हटाएपछि भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। तर चालिसे, बाङ्गेमोडलगायत स्थानमा पहिरो हटाउन बाँकी रहेकाले पृथ्वी राजमार्गमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।

पहिरो हटाउने क्रममा पुनः वर्षा भए माथिबाट थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले सडक र डाइभर्सनमा क्षति पुर्‍याएको छ।

कान्ति लोकपथको ठिङ्गन तथा फर्पिङ–फाखेलखण्डमा पनि पहिरो हटाउने काम जारी छ।

यसैबीच दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन सञ्चालन भइरहेका छन् भने ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। दक्षिणकाली–सिस्नेरी र त्रिभुवन राजपथमा सडकको अवस्था र सवारी चाप हेरेर आलोपालो यातायात सञ्चालन गरिएको छ।

लगातारको वर्षाका कारण उपत्यका प्रवेश गर्ने तथा बाहिरिने प्रमुख सडकमार्ग प्रभावित भएपछि यात्रु तथा चालक समस्यामा परेका छन्। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अवरुद्ध सडक जबर्जस्ती पार गर्ने प्रयास नगर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार