काठमाडौं । काभा क्लब च्याम्पियनसिपका लागि रुकुम पश्चिमले भारतीय राष्ट्रिय टोलीका कप्तान जिरोम विनिथलाई पहिलो रोजाइको विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
भारतमा आयोजना हुने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने क्रममा रुकुम पश्चिमले अनुभवी भारतीय खेलाडी विनिथलाई भित्र्याएको हो। उनी भारतीय टोलीका कप्तानसमेत हुन्।
विनिथ शक्तिशाली स्पाइक र प्रभावकारी ब्लकका लागि परिचित खेलाडी मानिन्छन्। उनको आगमनले रुकुम पश्चिमको टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काभा क्लब च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ गतेसम्म भारतमा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा रुकुम पश्चिमले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लागेको हो।
रुकुम पश्चिमले प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ उपाधि जित्दै काभा क्लब च्याम्पियनसिपमा स्थान बनाएको थियो। फाइनलमा उसले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै बलियो प्रदर्शन गर्ने लक्ष्यसहित रुकुम पश्चिमले विदेशी खेलाडी भित्र्याउने तयारी अघि बढाएको हो। विनिथको अनुबन्धसँगै टोलीको अन्तर्राष्ट्रिय अनुभव र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।