काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउने काम जारी छ। धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुवै स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। ठूलो परिमाणमा पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने उनले बताए।
कृष्णभिरमा खसेको पहिरो भने पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। तर चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले नियमित रूपमा सवारी सञ्चालन गर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
पहिरो हटाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्ने जोखिमसमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसले सडक खुलाउने काममा थप कठिनाइ हुन सक्ने बताइएको छ।
वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ।
कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ। बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।
दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्वसूचना लिन यात्रु तथा चालकलाई आग्रह गरेको छ।