सडक खुलाउन ‘फुल फेज’मा सरकारी संयन्त्र, सूचना पाएको आधा घण्टामै मेसिन पुग्ने

1.1k Shares

काठमाडौँ । वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडकमा आएको बाढीपहिरोको अवरोध हटाउन सरकारले विशेष आपत्कालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले सडक विभागमार्फत आफ्ना सम्पूर्ण संयन्त्र ‘फुल फेज’मा परिचालन गरेको जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित क्षेत्रमा हेभी मेसिनरी र जनशक्ति निरन्तर परिचालन गरिएको छ। जोखिमयुक्त तथा संवेदनशील सडकखण्डमा एक्साभेटर, डोजर र लोडरसहित २४० भन्दा बढी ठूला उपकरण तथा प्राविधिक टोलीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ।

उनका अनुसार कतिपय अवरुद्ध राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक पनि चाँडै खुलाउने लक्ष्य राखिएको छ। सडक सञ्चालनसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई समेत प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ।

दुई घण्टाभित्र सडक सञ्चालन गर्ने लक्ष्य

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ आधा घण्टाभित्र सम्बन्धित स्थानमा मेसिन पुर्‍याउने र बढीमा दुई घण्टाभित्र यातायात एकतर्फी वा पूर्ण रूपमा सञ्चालन गर्ने नीति लिइएको छ।

आवश्यक परे निजी क्षेत्रका हेभी उपकरणसमेत तत्काल भाडामा लिन सकिने गरी कानुनी तथा प्राविधिक तयारी गरिएको उनले बताए। जनधनको क्षति रोक्न जोखिमयुक्त क्षेत्रमा रातिको यातायातमा रोक लगाउनुका साथै थप सुरक्षा सतर्कता अपनाइएको छ।

बागमतीका विभिन्न सडक प्रभावित

प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडक बाढीपहिरोबाट प्रभावित भएका छन्।

बागमती प्रदेशमा मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्तीबेँसी र वडा नम्बर ४ सयबेँसीमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा अवरोध रहे पनि धुनीबेँसी नगरपालिका–९ स्थित सुरुङमार्ग अगाडि सडक एकतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा साना सवारीसाधन र मोटरसाइकल सञ्चालन भइरहे पनि ठूला सवारीसाधन चल्न सकेका छैनन्। नारायणगढ–मुग्लिङ सडकखण्डसमेत वर्षाका कारण प्रभावित भएको छ।

गण्डकीदेखि सुदूरपश्चिमसम्म पहिरोको असर

गण्डकी प्रदेशमा बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। पर्वतको मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। तनहुँको पृथ्वी राजमार्गका घाँसीकुवा, मौरीभिर, सेराटार र चुनपहरा क्षेत्रमा अवरोध छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्डसमेत अवरुद्ध भएको छ।

लुम्बिनी प्रदेशमा रोल्पा, गुल्मी, दाङ र पाल्पाका विभिन्न सडक पहिरोबाट प्रभावित छन्। गुल्मीको मदन भण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरमा अवरोध छ। पाल्पाको कालीगण्डकी करिडोर र सिद्धार्थ राजमार्ग पनि प्रभावित भएका छन्।

कर्णाली प्रदेशमा कर्णाली राजमार्ग, कर्णाली करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध गरेको छ। कालीकोटको गगने खोला, हुम्लाको खच्चा, मुगुको ताल्चा र सल्यानको खारखोलामा सडक अवरुद्ध भएको छ।

सुदूरपश्चिममा बाजुराको मार्तडी–साँफे सडक र दार्चुलाको महाकाली राजमार्ग प्रभावित छन्। दार्चुलाको ऐरिछिनामा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि साना सवारीसाधन सञ्चालन हुन सक्ने जनाइएको छ।

जोखिमयुक्त क्षेत्रमा रातिको यातायातमा रोक

सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरलगायत जिल्लामा निश्चित समयका लागि रातिको यातायातमा रोक लगाइएको छ।

सिन्धुली र काभ्रेमा बीपी राजमार्ग तथा अन्य संवेदनशील सडकखण्डमा समेत रातिको समयमा सवारी आवागमन रोकिएको छ। सरकारले सडक खुलाउने कामलाई तीव्रता दिए पनि जोखिमयुक्त क्षेत्रमा सुरक्षा अवस्थालाई प्राथमिकतामा राखेर मात्र यातायात सञ्चालन गर्ने जनाएको छ।

सम्बन्धित समाचार