पोखरा । मनाङको नार–फू क्षेत्रमा पर्ने हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। हेलिकप्टरबाट हवाई खोजी गर्नुका साथै उद्धार टोलीले घटनास्थलमै पुगेर बेपत्ताको खोजी गरिरहेको छ।
प्रशासनका अनुसार हिमपहिरोमा करिब १० जना सम्पर्कविहीन भएको भनिए पनि बेपत्ताको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। घटनापछि विभिन्न स्रोतबाट फरक–फरक विवरण आएपछि संख्या पुष्टि गर्न कठिन भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताएका छन्।
आइतबार घटनास्थलमा खटिएको उद्धार टोलीले दुई जनाको शव फेला पारेको थियो। शव चामे ल्याइसकिएको र सोमबार हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको पौडेलले जानकारी दिए।
उनका अनुसार आइतबार तीन जना उद्धारकर्मी घटनास्थलमा पठाइएको थियो। सोमबार बिहान थप तीन जना उद्धारकर्मी हेलिकप्टरमार्फत घटनास्थल पुगेका छन्। खोजी तथा उद्धारमा अनुभवी गाइडहरूलाई समेत परिचालन गरिएको छ।
यसैबीच, हिमपहिरोपछि सम्पर्कविहीन भनिएका ११ जना भने पैदल हिँडेर फू गाउँ आइपुगेका छन्। उनीहरू गाउँ फर्किएपछि घटनामा वास्तविक रूपमा कति जना बेपत्ता छन् भन्नेबारे थप स्पष्ट हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।
सोमबार मनाङको मौसम खुलेर आकाश सफा रहेकाले हवाई खोजी तथा उद्धार कार्यमा सहज हुने प्रशासनको विश्वास छ। खोजी तथा उद्धारका लागि प्रभु एयरको हेलिकप्टर परिचालन गरिएको छ।
नापाभूमि गाउँपालिका–५ मा पर्ने हिम्लुङ हिमालमा आइतबार हिमपहिरो गएको हो। नार–फू क्षेत्रमा रहेको हिम्लुङ हिमाल समुद्री सतहबाट ७ हजार १२६ मिटर उचाइमा रहेको छ।