कुन चराको आवाज सबैभन्दा मिठो ? अध्ययनले दियो यस्तो जवाफ

1.1k Shares

काठमाडौं । चराहरूको चिरबिर आवाज धेरैका लागि प्रकृतिको सबैभन्दा मनमोहक धुनमध्ये एक हो। तर मानिसलाई सबैभन्दा मधुर र मनपर्ने चराको आवाज कुन हो भन्ने प्रश्नको जवाफ खोज्दै गरिएको नयाँ अध्ययनले युरेसियन ब्ल्याकबर्ड (Common Blackbird) को आवाजलाई सबैभन्दा मनपर्ने आवाजका रूपमा देखाएको छ।

अध्ययनमा जर्मनीका ८४ जना सहभागीलाई युरोपमा पाइने १२३ प्रजातिका चराको आवाज सुनाएर ती आवाज कति मनमोहक लागे भनेर मूल्याङ्कन गर्न लगाइएको थियो। त्यसपछि अनुसन्धानकर्ताले चराको आवाजको तीव्रता, स्वरको उचाइ, जटिलता र ध्वनिको फैलावटलगायत विशेषताको विश्लेषण गरेका थिए।

अध्ययनका अनुसार कम चर्को, तुलनात्मक रूपमा उच्च स्वर र साँघुरो ध्वनि दायरा भएका आवाज मानिसलाई बढी मनपर्ने देखिएको छ। रोचक कुरा के छ भने सरल र दोहोरिने आवाजभन्दा केही बढी जटिल आवाजलाई सहभागीहरूले बढी मन पराएका थिए।

युरेसियन ब्ल्याकबर्डसँगै विलो वार्बलर, ब्ल्याकक्याप र मिस्टल थ्रसका आवाज पनि सहभागीहरूले निकै मन पराएका थिए। यसको विपरीत इजिप्सियन गिज, ग्रे हेरन र पेरेग्रिन फाल्कनका आवाज कम मनपर्ने सूचीमा परेका थिए।

अनुसन्धानले चराको आवाजप्रतिको मानिसको रुचि केवल व्यक्तिगत अनुभवमा मात्र निर्भर नहुने र आवाजको पिच, तीव्रता तथा जटिलताजस्ता ध्वनिक विशेषताले पनि प्रभाव पार्ने देखाएको छ। यसले चराको गीत तथा आवाजले मानिसको प्रकृतिसँगको सम्बन्ध र मनोवैज्ञानिक अनुभवबारे अध्ययन गर्न थप आधार प्रदान गर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

सम्बन्धित समाचार