बीपी राजमार्ग सञ्चालनमा, दुईतर्फी यातायात खुलाउने तयारी

547 Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रभावित बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण तथा पहिरो हटाउने काममार्फत यातायात पुनः सञ्चालन गरिएको हो।

सडक विभागका अनुसार बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र बाढीका कारण सडकमा क्षति पुगेको थियो। विशेषगरी माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुञ्जे र चौकीडाँडा क्षेत्रमा समस्या देखिएको थियो।

बाढीले जापानी सहयोगमा निर्माण गरिएको करिब साढे दुई किलोमिटर लामो डाइभर्सनसमेत बगाएपछि सडक विभागले जनशक्ति र उपकरण परिचालन गरी पुनर्निर्माण तथा सडक खुलाउने काम अघि बढाएको थियो।

सडक सञ्चालनमा आए पनि वर्षाका कारण पुनः पहिरो जाने तथा सडकमा ढुंगा खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। दशैँअघि मुख्य राजमार्गहरूलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको छ।

सम्बन्धित समाचार