पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि काठमाडौंमा रोकिएका सवारी छुट्न थाले
1.1k
Shares
काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएपछि काठमाडौंमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। लामो समयदेखि सडक खुल्ने प्रतीक्षामा रहेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन क्रमशः बाहिरिन थालेका हुन्।
हालै आएको बाढी र सडक कटानका कारण पृथ्वी राजमार्गको विभिन्न खण्डमा यातायात प्रभावित भएको थियो। धादिङको कृष्णभीर क्षेत्रमा सडकमा क्षति पुगेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन प्रभावित भएका थिए।
सडक विभाग तथा सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउन निरन्तर काम गर्दै आएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी–पहिरोबाट प्रभावित मुख्य राजमार्गलाई दशैँअघि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्।
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि काठमाडौंका विभिन्न स्थानमा रोकिएका सवारीसाधनको चाप क्रमशः घट्दै गएको छ। सडकमा अझै जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।