असोज १७ देखि भीषण वर्षा हुने हल्ला गलत, मौसम विभागले भन्यो– भ्रममा नपर्नुहोस्

1.8k Shares

काठमाडौं । असोज १७ गतेदेखि लगातार तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना गलत रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाले मंगलबार सूचना जारी गर्दै असोज १७ गतेदेखि तीन दिनसम्म भारी वर्षा हुने भनेर आफूले कुनै पूर्वानुमान नगरेको जनाएको हो। पछिल्लो मौसमी गतिविधिमा पनि त्यस्तो ठूलो परिवर्तन नदेखिएको भन्दै महाशाखाले भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार पछिल्लो समय सर्वसाधारणबाट असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्ने विषयमा धेरै सोधपुछ भइरहेको छ। त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले त्यस्तो कुनै पूर्वानुमान सार्वजनिक नगरेको स्पष्ट पारेको हो।

मौसमसम्बन्धी गलत सूचना फैलिँदा सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना हुन सक्ने भन्दै महाशाखाले आधिकारिक सूचना र पूर्वानुमानलाई मात्र आधार बनाउन आग्रह गरेको छ।

मौसमको अवस्था तथा आगामी दिनको पूर्वानुमानबारे जानकारी लिन महाशाखाको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा अद्यावधिक हुन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

सम्बन्धित समाचार