काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन १६ असोजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
संविधानअनुसार संघीय संसदको अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो।
चालु अधिवेशन गत २८ वैशाखदेखि सुरु भएको थियो। अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन्।
यस अवधिमा अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित भई प्रमाणीकरण भएका छन्। त्यस्तै, वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि संसद्बाट पारित भई प्रमाणीकरण भएका छन्।
चालु अधिवेशनका क्रममा प्रतिनिधिसभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गरेको थियो। उक्त समितिले सम्बन्धित विषयमा अध्ययन तथा आवश्यक सुझाव दिने कार्यादेश पाएको छ।
यद्यपि, प्रतिनिधिसभामा १० भन्दा बढी विधेयक अझै विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्। ती विधेयकमाथिको छलफल र प्रक्रियासहित अन्य संसदीय कामकारबाही भने अधिवेशन अन्त्यसँगै तत्कालका लागि रोकिनेछन्।
सरकारको सिफारिसपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी निर्णय हुनेछ।