दसैँअघि नै ट्राफिक लाइट बाल्ने तयारी, चितवनका ६ चोकमा धमाधम जडान

876 Shares

चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडानको काम तीव्र पारिएको छ। सवारी चाप बढी हुने विभिन्न ६ वटा चोकमा ट्राफिक लाइट जडान गरी आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पुलचोक–गोन्द्राङको ६ लेन सडक तथा बाइपास सडकअन्तर्गत पुलचोक, सहिदचोक, चौबीसकोठी, हाकिमचोक, मालपोत चोक र केन्द्रीय बस टर्मिनल चोकमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ।

निर्माण कम्पनीका अनुसार केही स्थानमा पोल जडानको काम सम्पन्न भइसकेको छ भने अहिले बत्ती तथा आवश्यक उपकरण जडान गर्ने काम भइरहेको छ। दसैँको समयमा चितवनमा सवारीसाधनको चाप बढ्ने भएकाले त्यसअघि नै ट्राफिक लाइट सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

ट्राफिक लाइट जडानका लागि सडक विभागले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माणमा ढिलाइ भएको र अहिले काम अघि बढाइएको जनाइएको छ। निर्माण कम्पनीलाई ढिलाइबापत जरिवाना समेत लगाइएको छ।

चितवनको सहरी क्षेत्रमा ६ लेनको सडक विस्तार भए पनि व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट नहुँदा चोकहरूमा सवारी व्यवस्थापन चुनौतीपूर्ण हुँदै आएको थियो। ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थित हुने, लेन अनुशासन कायम गर्न सहज हुने तथा दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइटले चोकमा सवारीसाधनबीचको प्रतिस्पर्धा घटाउँदै पालोअनुसार आवागमन व्यवस्थापन गर्न सहयोग गर्नेछ। यसले चालक तथा पैदलयात्रुलाई समेत सुरक्षित रूपमा सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार