दुबई–तेल अभिभ उडानमा भएको घटनाको दोषी को हो भन्ने निष्कर्षमा पुग्न हतार हुन्छ : नेतन्याहु

1.5k Shares

काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा भएको घटनाको कारण र दोषीबारे अहिले नै निष्कर्षमा पुग्न हतार हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्रै स्पष्ट हुने बताएका हुन्।

बुधबार दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेको आरोप लागेको थियो। घटनापछि विमान केही समय असामान्य रूपमा तल झरेको थियो। यात्रु र चालक दलका केही सदस्यले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ।

विमानमा १७४ जना सवार रहेको बताइएको छ। घटनापछि विमानलाई आपत्कालीन रूपमा साउदी अरबको तबुक विमानस्थलमा अवतरण गराइएको थियो। क्याप्टेन घाइते भए पनि उनको अवस्था स्थिर रहेको जनाइएको छ।

नेतन्याहुले घटनालाई तत्काल ‘हाइज्याक’ भन्न नमिल्ने बताएका छन्। उनका अनुसार प्रारम्भिक विवरणले यो आत्महत्या प्रयाससँग सम्बन्धित हुन सक्ने देखिए पनि त्यसबारे पनि अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने अवस्था छ। घटनामा संलग्न भनिएका सहपाइलट ओमानी नागरिक रहेको र हाल साउदी अरबमा सोधपुछ भइरहेको बताइएको छ।

इजरायली अधिकारीहरूले घटनाको उद्देश्य र सम्भावित पृष्ठभूमिबारे अनुसन्धान गरिरहेका छन्। इरानसँग कुनै सम्बन्ध वा सहकार्य थियो कि भन्ने विषयमा समेत अनुसन्धान भइरहेको भए पनि त्यसको पुष्टि भइसकेको छैन।

फ्लाइदुबईले पनि घटनाको कारण र उद्देश्यबारे अनुसन्धान जारी रहेको भन्दै तथ्य पूर्ण रूपमा बाहिर नआएसम्म अनुमान नगर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार