काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सरकारी निकायहरूले यातायात व्यवस्थापन तथा सडक सुरक्षाको तयारी तीव्र पारेका छन्। यस वर्ष दसैँका क्रममा उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ।
यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका मुख्य नाका तथा राजमार्ग क्षेत्रमा विशेष व्यवस्थापनको तयारी गरिरहेको छ। सवारीसाधनको चाप बढ्ने सम्भावित स्थान पहिचान गरी ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई सहज आवागमन गराउने योजनाअनुसार काम भइरहेको छ।
यता, पछिल्लो समय बाढी, पहिरो र वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतलाई सडक विभागले प्राथमिकतामा राखेको छ। दसैँअघि प्रमुख राजमार्गलाई सकेसम्म सञ्चालनयोग्य र सुरक्षित बनाउने गरी मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइएको छ।
विशेषगरी काठमाडौं उपत्यकाबाट बाहिरिने नागढुंगा–मुग्लिन, पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायतका सडकमा यात्रुको चाप बढ्ने भएकाले सडकको अवस्था सुधार्न विभागले आवश्यक उपकरण र जनशक्ति परिचालन गरेको जनाएको छ। बीपी राजमार्गको स्थायी पुनर्निर्माणको काम पनि अघि बढिरहेको छ।
यसैबीच, सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ भने सडकको अवस्थाका कारण अझै सहज रूपमा सुरु हुन सकेको छैन। यातायात व्यवसायीहरूले यात्रुको सुरक्षित गन्तव्य सुनिश्चित भएपछि मात्रै अग्रिम टिकट खुलाउने बताएका छन्। यस वर्ष एकैपटक १०–१५ दिनको टिकट खुलाउनुको सट्टा सडकको अवस्थाअनुसार केही दिनका लागि मात्रै अग्रिम टिकट खोल्ने विकल्पमा छलफल भइरहेको छ।