काठमाडौं । वाईसीएल नेपालद्वारा निर्माणाधीन पहिलो चरणका अस्थायी आवासहरूको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण सुरु गरिएका अधिकांश आवासहरू अहिले सम्पन्न हुने चरणमा पुगेका छन्।
प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले सुरु गरिएको निर्माण अभियानअन्तर्गत विभिन्न स्थानमा अस्थायी आवास निर्माण भइरहेको छ। स्वयंसेवक तथा निर्माण टोलीहरू निरन्तर खटिएपछि धेरै घरहरूको मुख्य संरचना तयार भइसकेको र बाँकी काम पनि तीव्र रूपमा भइरहेको बताइएको छ।
पहिलो चरणमा निर्माण थालिएका आवासमध्ये धेरै घर छिट्टै सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्ने अपेक्षा गरिएको छ। आवास निर्माणसँगै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार र अन्य आधारभूत सुविधाको व्यवस्थापनमा समेत ध्यान दिइएको छ।
वाईसीएल नेपालले विपद्का कारण घरबारविहीन बनेका तथा प्रभावित परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्थायी आवास निर्माण अभियान सञ्चालन गरेको जनाएको छ। निर्माण कार्यलाई समयमै सम्पन्न गरी प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने लक्ष्य राखिएको छ।