आज पनि देशका केही ठाउँमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

1.1k Shares

काठमाडौं । देशका केही भू–भागमा शुक्रबार मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, तराईका भू–भागमा राति आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना रहेको छ।

मौसममा आएको यस्तो परिवर्तनले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने र उच्च भेगमा रहेका सर्वसाधारणलाई मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।

सम्बन्धित समाचार