काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी यू–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै क्रिकेट मैदान तथा पूर्वाधार निर्माणको काम तीव्र पारेको छ।
नेपालले पहिलोपटक आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकप आगामी पुसमा हुँदैछ। त्यसअघि एनपीएलको तेस्रो संस्करण कात्तिकदेखि सञ्चालन हुने तालिका छ। दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माण अघि बढाइएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले बताएका छन्।
क्यानले विशेषगरी एनपीएलका अघिल्ला दुई संस्करणमा देखिएका दर्शक व्यवस्थापन, पार्किङ र अन्य व्यवस्थापकीय कमजोरी यसपटक दोहोरिन नदिने तयारी गरेको छ। दर्शकको सहजताका लागि बाइक स्ट्यान्ड, सवारी पार्किङलगायतका संरचना व्यवस्थित गर्ने काम भइरहेको सिंहले बताएका छन्।
यू–१९ महिला विश्वकपका खेल टीयू र मूलपानी मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टीयू मैदानमा बढी खेल हुने क्यानले जनाएको छ।
विश्वकपलाई लक्षित गर्दै मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), एसियाली क्रिकेट परिषद् (एसीसी) र खेलाडीका अभिभावकका लागि भीआईपी संरचना निर्माण भइरहेको छ।
तर, लामो समयदेखि निर्माण तथा स्तरोन्नतिको क्रममा रहेको मूलपानी क्रिकेट मैदान अझै पूर्ण रूपमा तयार हुन नसकेको भन्दै क्यानले सरकारको ध्यानाकर्षण गराएको छ। उपाध्यक्ष सिंहले मैदान निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।
नेपालमा अन्तर्राष्ट्रियस्तरका कम्तीमा दुई ठूला क्रिकेट मैदान तयार भए विश्वकप, एसीसी प्रिमियर कप, एसिया कप तथा विश्वकप छनोटजस्ता ठूला प्रतियोगिता आयोजना गर्न सकिने क्यानको धारणा छ। यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा पर्यटन तथा अन्य आर्थिक गतिविधिमा समेत योगदान पुग्ने सिंहले बताएका छन्।
क्यानले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ।