बागलुङमा खोलाले बगायो वडा कार्यालयको नयाँ भवन, जगैदेखि ढल्यो

1.1k Shares

बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ मा रहेको वडा कार्यालयको नवनिर्मित भवन दरमखोलामा आएको बाढी तथा कटानका कारण जगैदेखि ढलेर खोलामा पुगेको छ।

वडाध्यक्ष तेजबहादुर थापा निर्वाचित भएपछि स्थानीयवासीको पहल तथा नगरपालिकाको करिब ८० लाख रुपैयाँ बजेटबाट तीन रोपनी जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको थियो। आवश्यक स्रोतसाधनसहित सञ्चालनमा रहेको उक्त भवन दरमखोलाको कटान बढ्दै गएपछि गत आइतबार साँझ करिब ४ बजे अचानक ढलेर खोलामा पुगेको हो।

भवनसँगै करिब १५ लाख रुपैयाँ खर्चेर जडान गरिएको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ। नदीको कटान तीव्र भएपछि स्थानीयवासीले समयमै कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामग्री भने सुरक्षित स्थानमा सारेका थिए।

वडा कार्यालय भवन नै बाढीले बगाएपछि वडाध्यक्ष थापाले दुःख व्यक्त गरेका छन्। उनले आफ्नो धानखेत बाढीले बगाए पनि वडा कार्यालय भवन नष्ट हुँदा अझ बढी पीडा भएको बताएका छन्।

बाढीका कारण वडा नम्बर ९ का केही घरगोठ तथा ठूलो क्षेत्रफलको धानखेतमा समेत क्षति पुगेको छ। गलकोट क्षेत्रमा प्रारम्भिक विवरणअनुसार २२ घरगोठमा क्षति पुगेको नगरपालिकाले जनाएको छ। बागलुङमा असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोले विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

नगरप्रमुख भरत शर्मा गैरेले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःनिर्माणका काम अघि बढाउने बताएका छन्।

सम्बन्धित समाचार