कोहलपुरमा स्वास्थ्यकर्मीमाथि कुटपिट, संवेदनशील अंग जाँच गरेको आरोपमा विवाद

1.3k Shares

रुपन्देही । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा स्वास्थ्यकर्मीले उपचारका क्रममा बालिकाको संवेदनशील अंगमा हात लगाएको आरोप लागेपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।

घटनामा कुटपिटमा परेका व्यक्ति चिकित्सक नभई सीएमए अध्ययन गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा रहेको खुलेको छ। शनिबार बिरामीका आफन्त मेडिकलमै पुगेर उनीमाथि पटक–पटक हातपात गरेका थिए। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भएको छ।

प्राप्त विवरणअनुसार पेट दुखेपछि ती बालिका कोहलपुरस्थित थापा मेडिकल पुगेकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मी थापाले जबर्जस्ती सुरुवाल खोल्न लगाएर संवेदनशील अंगमा हात लगाएको बालिकाले आफन्तलाई बताएपछि उनीहरू आक्रोशित भएका थिए।

बालिकाले घटनाबारे आफन्तलाई जानकारी गराएपछि केही समयमै आफन्तसहित मेडिकल पुगेका व्यक्तिहरूले थापामाथि कुटपिट गरेका थिए।

यता, स्वास्थ्यकर्मी थापाले भने आफूले कुनै गलत नियतले परीक्षण नगरेको दाबी गरेका छन्। बिरामीले सेतो पानी बग्ने, गानो–गोला हुने तथा तल्लो पेट दुख्ने समस्या बताएपछि उनको आग्रहअनुसार स्वास्थ्य परीक्षण गरेको थापाको भनाइ छ।

घटनाबारे दुवै पक्षको भनाइ आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरका अनुसार कुटपिटमा परेका स्वास्थ्यकर्मीलाई शनिबार नै नियन्त्रणमा लिइएको थियो।

उनका अनुसार घटनामा संलग्न अर्को पक्षलाई पनि आइतबार प्रहरी कार्यालयमा बोलाइएको छ। घटनाबारे आवश्यक अनुसन्धानपछि थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार