धनगढी — चालु आर्थिक वर्ष सुरु भएको करिब तीन महिना पुग्न लाग्दा पनि बजेट ल्याउन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले अब प्रदेशसभा बैठक आह्वानको तयारी थालेको छ। सरकार र सत्ता साझेदार दलहरूबीच सहमति जुटे मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ।
यसअघि मुख्यमन्त्री खगराज भट्टले सोमबारसम्म प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी भइरहेको बताएका थिए। तर सोमबार पनि बजेट प्रस्तुत हुन सकेन। त्यसमाथि मुख्यमन्त्री भट्ट अस्वस्थ भएपछि बजेट प्रस्तुति थप प्रभावित भएको छ।
प्रदेश सरकार अहिले बजेटको आकार, उपलब्ध स्रोतको बाँडफाँट र विभिन्न क्षेत्रबाट आएका योजनाका माग व्यवस्थापन गर्ने विषयमा छलफलमा छ। प्रदेशसँग हाल करिब ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको स्रोत उपलब्ध रहेको बताइएको छ। तर प्रशासनिक खर्च, पुराना दायित्व तथा सम्पन्न आयोजनाको भुक्तानी र नयाँ योजनाको दबाबका कारण उक्त स्रोत पर्याप्त नहुने देखिएको छ।
यसअघि अघिल्लो सरकारले ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर तत्कालीन सरकार अल्पमतमा परेपछि बजेट पारित हुन सकेन र सरकारसमेत परिवर्तन भयो। नयाँ सरकारले पुरानो बजेटलाई संशोधन गर्दै नयाँ प्राथमिकतासहित बजेट ल्याउने तयारी अघि बढाएको हो।
बजेट नआउँदा अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाको भुक्तानीसमेत प्रभावित भएको छ। निर्माण व्यवसायी तथा मजदुरहरू आर्थिक समस्यामा परेको र चालु आर्थिक वर्षका नयाँ योजना तथा विकास निर्माणका काम अघि बढ्न नसकेको प्रदेश सरकारमाथि दबाब छ।
सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले सकेसम्म छिटो बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। उनका अनुसार जनताको आवश्यकता र प्रदेशको प्राथमिकतालाई ध्यानमा राखेर बजेटलाई जनमुखी बनाउने प्रयास भइरहेको छ।