चाडपर्वमा ग्यासको अभाव हुन नदिन नयाँ व्यवस्था, जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने

1.6k Shares

काठमाडौं । दसैंलगायत चाडपर्वको समयमा उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर ग्यास लिन सकिने व्यवस्था गर्न लागेका छन्।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाका उपभोक्ताले आफूसँग भएको जुनसुकै ब्रान्डको खाली सिलिन्डर तोकिएका बिक्री केन्द्रमा बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन्। यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो। विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै ब्रान्ड फरक भएकै कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार उपभोक्तालाई राहत दिन उद्योगीहरूलाई नै जुनसुकै कम्पनीको सिलिन्डर साट्ने व्यवस्था गर्न अनुरोध गरिएको हो। विगतमा फरक कम्पनीको सिलिन्डर साट्दा केही डिलरले उपभोक्ताबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो आउने गरे पनि अब त्यस्तो शुल्क नलिने उनले स्पष्ट पारे।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका करिब १५ देखि २० मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ। नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका स्थानमा काउन्टर राख्ने विषयमा छलफल भइरहेको छ।

संकलन भएका विभिन्न कम्पनीका खाली सिलिन्डरलाई उद्योगीहरूले पछि आपसी समन्वयमा व्यवस्थापन गर्नेछन्।

वास्तविक उपभोक्तालाई मात्र सुविधा

उद्योगीहरूका अनुसार यो सुविधा डिलर वा व्यवसायीका लागि नभई ग्यासको अभाव झेलिरहेका वास्तविक उपभोक्ताका लागि मात्र हुनेछ। ग्यासको दुरुपयोग रोक्न काउन्टरबाट ग्यास लिन उपभोक्ताको परिचय खुल्ने कागजात तथा मोबाइल नम्बर आवश्यक पर्ने व्यवस्था गरिनेछ।

यसले विशेषगरी घरमा एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ। तोकिएका स्थानबाट सेवा सञ्चालन हुने विषयमा अन्तिम निर्णय भएपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गरिने नेपाल आयल निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक साहले निश्चित काउन्टरमा मात्र सीमित नराखी डिलर स्तरबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने व्यवस्था गर्न सके उपभोक्तालाई अझ सहज हुने बताएका छन्।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले ग्यासको खपत करिब ४० प्रतिशतसम्म घट्ने गरेको छ। तर उपत्यकामै बस्ने र एउटामात्र सिलिन्डर भएका उपभोक्ताका लागि यो व्यवस्था चाडपर्वको समयमा ग्यास खोज्दै पसल–पसल धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार