बाढीपहिरोको वितण्डा: देशभरका सडक अवरुद्ध, यात्रु सास्तीमा

820 Shares

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। विभिन्न क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनको आवागमनमा समस्या भएको छ भने केही सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

प्राप्त विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। धादिङको धुनिबेँसी नगरपालिका–९, खत्रीपौवामा पहिरो खस्दा त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ। त्यस्तै, गजुरी गाउँपालिका–५, गलौंदीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

काभ्रेमा बाढीका कारण बीपी राजमार्गसमेत अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रु तथा सवारीचालक प्रभावित भएका छन्।

गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि बाढीपहिरोले समस्या निम्त्याएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा रहेको छ। नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्तीमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ।

यसैगरी, बेँसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। कालीगण्डकी करिडोरको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने भेरी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

यता, सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, बालुवासंग्रहीमा पहिरो खस्दा बालुवासंग्रही सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा सवारीसाधनको आवागमन प्रभावित बनेको छ।

विभिन्न स्थानमा सडक अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आवश्यक देखिएको छ। बाढीपहिरो प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।image-46-768x561.png

सम्बन्धित समाचार