काठमाडौं । चाडपर्वका बेला खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिण्डर साटफेर गर्ने भएको छ।
संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म सञ्चालन हुने उक्त व्यवस्थाअन्तर्गत उपभोक्ताले बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास खरिद गर्न तथा सिलिण्डर साटफेर गर्न सक्नेछन्।
ग्यास बिक्री तथा साटफेरका लागि काठमाडौंको सिफलचौरमा एभरेष्ट र सुगम ग्यास उपलब्ध हुनेछन्। पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध गराइने संघले जनाएको छ।
त्यस्तै, सुकेधारामा बाबा र श्री, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा साटफेर गरिनेछ।
संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भएको थियो।
उपत्यकामा ग्यासको आपूर्ति सामान्य बन्दै गए पनि चाडपर्वका बेला ग्यास पाउन कठिन भएको र फरक ब्रान्डका सिलिण्डर साट्न समस्या परेको उपभोक्ताको गुनासोपछि यस्तो व्यवस्था गरिएको संघले जनाएको छ।
तर, निर्धारित केन्द्रबाट काठमाडौं उपत्यकामा बिक्री वितरण हुने ग्यासका सिलिण्डर मात्रै साटफेर गर्न पाइनेछ। संघले तोकिएका बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर साटफेर गर्न नपाइने स्पष्ट पारेको छ।
चाडपर्वका बेला ग्यासको माग बढ्ने र सिलिण्डर साटफेरमा समस्या हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सञ्चालन गर्न लागिएको यस व्यवस्थाबाट उपभोक्तालाई ग्यास खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।