काठमाडौं । धादिङको गजुरी नजिक गलौदीमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउन मर्मत कार्य तीव्र पारिएको छ। सडक विभागले भित्तातर्फको भाग खन्ने अर्थात् ‘ब्याक कटिङ’ गरेर सडक खुलाउने काम अघि बढाएको हो।
सडक विभागका सूचना अधिकारी सुभाञ्जन दाहालका अनुसार त्रिशूली नदीले सडकको किनार कटान गरेपछि गजुरीबाट काठमाडौं जानेतर्फको गलौदी खण्ड भासिएको थियो। सडकको अवस्था जोखिमपूर्ण बनेपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन भित्तातर्फ रहेको स्थानीय सडकको भाग काटेर नयाँ ट्र्याक निर्माण गर्ने योजना बनाइएको थियो। तर, स्थानीय निकायको अवरोधका कारण सुरुमा मर्मत कार्य अघि बढ्न सकेको थिएन।
स्थानीय निकाय तथा सरोकारवालासँग छलफल गरी सहमति जुटेपछि अहिले सडक मर्मत र भित्तातर्फको भाग खन्ने कामले गति लिएको दाहालले बताएका छन्।
उनका अनुसार अवस्था सामान्य रहेमा अबको करिब आठ घण्टाभित्र पृथ्वी राजमार्गमा यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, सडकको अवस्था र मर्मत कार्यको प्रगतिअनुसार सञ्चालनको समय प्रभावित हुन सक्नेछ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन लामो जाममा परेका छन्। यात्रुहरू बाटोमै अलपत्र पर्दा आवागमनसमेत प्रभावित भएको छ।
सडक विभागले राजमार्ग पुनः सञ्चालनमा नआएसम्म यात्रु तथा सवारीचालकलाई सावधानी अपनाउन र धैर्य गर्न आग्रह गरेको छ।