गोरखाको आरुघाटमा बाढीको त्रास, बजार खाली गराउँदै प्रशासन

1.5k Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट बजार खाली गराइएको छ। नदीको जलसतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको हो।

गोरखा र धादिङ जिल्लाको भूभागमा फैलिएको आरुघाट बजार बूढीगण्डकी नदीको किनारमा अवस्थित छ। नदीमा आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने आशंकापछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले बजार क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान सचेत गराएको छ।

यसअघि गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। पैयू र बगर गाउँका ३५ घर बगाएको तथा दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायत क्षेत्रमा व्यापक क्षति भएको विवरण सार्वजनिक भएको छ। बाढीको कारणबारे प्रारम्भिक रूपमा माथिल्लो क्षेत्रमा पहिरोले नदीको बहाव थुनेर पछि एक्कासि खुलेको हुन सक्ने आशंका गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीको जलसतह खतरा तह पार गरेको भन्दै नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। बाढीको बहाव नघटेसम्म नदी आसपास नजान र सुरक्षित उच्च स्थानमा बस्नसमेत अनुरोध गरिएको छ।
 
बाढीको जोखिम कायमै रहेकाले स्थानीय बासिन्दालाई प्रशासनको निर्देशन पालना गर्न, नदीको किनारबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित समाचार