बाढी प्रभावितको उद्धारमा जुट्यो सरकार, ६ जनालाई सुरक्षित स्थानमा सारियो

1.2k Shares

गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा फसेका ६ जनाको हवाई उद्धार गरिएको छ। बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुगेपछि उद्धार कार्यलाई तीव्र पारिएको हो।

बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न हेलिकोप्टर परिचालन गरिएको छ। बाढीले नदी किनारका बस्ती, घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे चासो दिँदै उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिएका छन्। प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय परिचालन गरिएको छ।

बाढीको कारणबारे प्रारम्भिक रूपमा चुमनुब्री गाउँपालिका–६ क्षेत्रमा गएको सुक्खा पहिरोले खोला थुनिएपछि बुढीगण्डकी नदीमा पानीको बहाव एक्कासि बढेको आशंका गरिएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

सम्बन्धित समाचार