काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज देशभरका दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका अवसरमा देवी दुर्गाको उपासना गर्ने परम्पराअनुसार बिहानैदेखि श्रद्धालुहरू पूजा आराधना तथा दर्शनमा सहभागी भइरहेका छन्।
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिएको उल्लेख छ।
चन्द्रघण्टा देवीलाई शान्त, करुणामयी र शक्तिस्वरूपाका रूपमा वर्णन गरिएको छ। धार्मिक विश्वासअनुसार उहाँको आराधनाले शक्ति प्राप्त हुने, नकारात्मक प्रवृत्तिको नाश हुने र भक्तजनका पाप नष्ट हुने मान्यता छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रका अवसरमा देवीको विशेष पूजा आराधना गर्ने परम्परा छ। देवीको उपासनाबाट शक्ति प्राप्त हुने धार्मिक विश्वासका आधारमा भक्तजनले विधिपूर्वक पूजा तथा ध्यान गर्ने गरेका छन्।
चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। उहाँलाई अत्याचारी र आसुरी प्रवृत्तिको नाश गर्ने देवीका रूपमा समेत चित्रण गरिएको छ। यस दिन साधनाका क्रममा मणिपुर चक्रमा ध्यान गर्ने धार्मिक मान्यता पनि रहेको छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने र भक्तजनले आध्यात्मिक शक्ति प्राप्त गर्ने विषय उल्लेख गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जमरा राखिन्छ। यस वर्ष आइतबार घटस्थापना गरी नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वानसहित पूजा आराधना गरिएको थियो। दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टाको आराधना गरिँदैछ।
धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् लगायत देवी स्तोत्रको पाठ गर्ने चलन छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको चहलपहल बढ्ने गर्छ। कतिपय श्रद्धालुले नवरात्रका नौ दिनमा नौवटा शक्तिपीठ पुगेर पूजा तथा दर्शन गर्ने धार्मिक परम्परासमेत पालना गर्दै आएका छन्।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवमीसम्म पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
यसरी नवरात्रको नौ दिन देवीको उपासना र त्यसपछिका दिनमा टीका तथा आशीर्वाद ग्रहण गर्दै नेपालीहरूले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।