सरदर समयभन्दा १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

1.4k Shares

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति असोज १६ गते भए पनि यस वर्ष असोज २८ गते मात्रै मनसुन पूर्ण रूपमा बाहिरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो। त्यसपछि क्रमशः अन्य क्षेत्रबाट पनि मनसुन बाहिरिएको हो।

मनसुन बाहिरिएसँगै वर्षायामको औपचारिक अन्त्य भएको मानिए पनि मौसम पूर्ण रूपमा स्थिर भइसकेको छैन। महाशाखाले स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने जनाएको छ।

यी मौसमी प्रणालीको प्रभावका कारण केही स्थानमा बदली तथा वर्षा हुन सक्ने भएकाले मौसमको अवस्थाबारे नियमित जानकारी लिन आवश्यक देखिन्छ।

यस वर्ष मनसुन ढिलो गरी बाहिरिएकाले मौसममा हुने परिवर्तनप्रति सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।

सम्बन्धित समाचार