काठमाडौँ, असोज २९ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक जामको समस्या समाधान गर्ने उद्देश्यले प्रस्तावित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनाको सम्भाव्यता अध्ययन सुरु भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अघि बढाइएको अध्ययनको प्रतिवेदन छ महिनाभित्र सरकारलाई बुझाउने तयारी छ।
सरकारले ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिक गरिसकेको छ। जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्ष लगाएर तयार गरिएको उक्त गुरुयोजनाले उपत्यकाको भविष्यको जनसङ्ख्या वृद्धि, सहरी विस्तार र यातायातको मागलाई आकलन गर्दै मेट्रो रेल तथा बस ¥यापिड ट्रान्जिट (बिआरटी) जस्ता सार्वजनिक यातायातका प्रणाली विकास गर्न सुझाव दिएको छ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशीलबाबु ढकालका अनुसार गुरुयोजनाकै आधारमा रत्नपार्कदेखि भक्तपुरको जगातीसम्म मेट्रो रेल सञ्चालन गर्ने प्रस्ताव अघि बढाइएको हो।
उहाँले अहिलेको यातायात अवस्थालाई मात्र नभई आगामी वर्षहरूमा बढ्ने जनसङ्ख्या, बजार विस्तार र यात्रुको चापलाई समेत ध्यानमा राखेर गुरुयोजना तयार गरिएको बताउनुभयो। साना सवारीसाधनको अत्यधिक प्रयोग घटाउँदै ठूलो क्षमताका सार्वजनिक यातायात प्रणालीलाई प्राथमिकता दिनुपर्ने सुझावअनुसार मेट्रो रेल परियोजनालाई अघि बढाइएको उहाँको भनाइ छ।
गुरुयोजनाले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा मेट्रो रेल र बिआरटी सञ्चालन गर्न सकिने सम्भावित मार्गसमेत पहिचान गरेको छ। तर, गुरुयोजनामा प्रस्तावित मार्गमा रेल सञ्चालन प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय दृष्टिले सम्भव छ कि छैन भन्ने विषयको टुङ्गो विस्तृत अध्ययनपछि मात्र लाग्नेछ।
सहसचिव ढकालका अनुसार जाइकाले प्रस्तावित मेट्रो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि टोली परिचालन गरिसकेको छ। टोलीले रेलमार्गको उपयुक्तता, निर्माण गर्नुपर्ने संरचना, निर्माणबाट पर्ने प्रभाव तथा आयोजनाको वित्तीय प्रतिफललगायत विषयमा अध्ययन गर्नेछ।
“गुरुयोजनाले सो मार्गमा मेट्रो रेल उपयुक्त हुन्छ भने पनि त्यसको सञ्चालन सम्भव छ कि छैन, सामाजिक तथा वातावरणीय प्रभावलगायत विषयमा सम्भाव्यता अध्ययन आवश्यक छ। त्यसैअनुसार जाइकाले टोली खटाएर अध्ययन सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो।
अध्ययन टोलीले प्रस्तावित रेलमार्गमा कस्ता संरचना आवश्यक पर्छन्, तिनको निर्माणले स्थानीय बस्ती तथा अन्य पूर्वाधारमा कस्तो प्रभाव पार्छ र आयोजना आर्थिक रूपमा प्रतिफलदायी बनाउन के गर्नुपर्छ भन्ने विषयको विश्लेषण गर्नेछ।
त्यस्तै, रेलमार्गमा कहाँ डिपो निर्माण गर्ने, कहाँ स्टेशन र यात्रु चढ्ने–ओर्लने स्थान राख्ने तथा पार्किङ क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि अध्ययनमा समेटिनेछ।
टोलीले छ महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसपछि मात्र आयोजनालाई कार्यान्वयनमा लैजाने विषयमा निर्णय गर्न सकिने मन्त्रालयले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रेलमार्गको अन्तिम डिजाइन, निर्माण विधि र आवश्यक संरचनाबारे थप स्पष्ट हुनेछ।
गुरुयोजनामा प्रस्ताव गरिएअनुसार मेट्रो रेल भक्तपुरको जगातीबाट अरनिको राजमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउसम्म जमिनमाथि निर्माण गर्ने अवधारणा छ। विमानस्थल क्षेत्रमा भने भूमिगत मार्ग प्रस्ताव गरिएको छ।
त्यसपछि विमानस्थलदेखि माइतीघरसम्म जमिनमाथि र माइतीघरदेखि रत्नपार्कसम्म पनि जमिनमाथि रेल सञ्चालन गर्ने प्रस्ताव गुरुयोजनामा उल्लेख छ। यद्यपि, यो प्रारम्भिक अवधारणा भएकाले अन्तिम संरचना र मार्गको स्वरूप सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदनबाट तय हुनेछ।
उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि ठोस कार्यान्वयन हुन सकेको छैन। सन् २०१२ मा कोरियन कम्पनी चुन्सुङ इन्जिनियरिङले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरेको थियो।
उक्त अध्ययनले उपत्यकाका विभिन्न क्षेत्रमा कुल ७७ किलोमिटर रेलमार्ग विकास गर्न सकिने देखाएको थियो। त्यसमध्ये ५२ किलोमिटरमा जमिनमाथि र २५ किलोमिटरमा भूमिगत मेट्रो रेल सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको थियो।
अध्ययनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किलोमिटर, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–विमानस्थल ११ किलोमिटर र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किलोमिटर मार्गमा जमिनमाथि मेट्रो रेल निर्माण गर्न सकिने सुझाव दिएको थियो।
त्यसैगरी, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किलोमिटर र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु १४ किलोमिटर मार्गमा भूमिगत मेट्रो रेल निर्माण गर्न सकिने प्रस्ताव गरिएको थियो। तर, तीमध्ये अधिकांश मार्गमा त्यसयता पूर्वसम्भाव्यता अध्ययनसमेत अघि बढ्न नसकेको विवरणमा उल्लेख छ।
सार्वजनिक यातायातका विभिन्न माध्यमको क्षमताको तुलना गर्दा मेट्रो रेलले सडकमा चल्ने बसको तुलनामा धेरै यात्रु बोक्न सक्ने बताइएको छ। उपलब्ध विवरणअनुसार बसमा प्रतिघण्टा प्रतिलेन करिब आठ हजार यात्रु यात्रा गर्न सक्छन् भने केवलकारमा दुईदेखि तीन हजार र मेट्रो रेलमा २५ हजारदेखि ५० हजारसम्म यात्रु ओसारपसार गर्न सकिने उल्लेख छ।
ठूलो सङ्ख्यामा यात्रुलाई छिटो र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउन सक्ने भएकाले मेट्रो रेललाई उपत्यकाको दीर्घकालीन यातायात व्यवस्थापनको सम्भावित विकल्पका रूपमा हेरिएको छ।
रेल विभागका अनुसार आगामी ५० वर्षको यातायात मागलाई ध्यानमा राखेर प्रतिघण्टा ५० हजार यात्रु बोक्न सक्ने भूमिगत मेट्रो प्रणाली विकास गर्नु आवश्यक हुन सक्छ। भूकम्पीय जोखिमका कारण जमिनमुनिको संरचना उपयुक्त हुन सक्ने तर्क पनि विभागले अघि सारेको छ। यद्यपि, भूमिगत संरचनाको सुरक्षा र उपयुक्तता भूगर्भीय अवस्था, भूकम्पीय जोखिम तथा प्राविधिक अध्ययनका आधारमा निर्धारण गर्नुपर्ने हुन्छ।
काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको प्रस्ताव लामो समयदेखि चर्चामा रहे पनि निर्माणको चरणमा पुग्न सकेको छैन। अब रत्नपार्क–भक्तपुर रेलमार्गको सम्भाव्यता अध्ययनले आयोजना आर्थिक, प्राविधिक र वातावरणीय रूपमा सम्भव छ कि छैन भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अध्ययन प्रतिवेदन, त्यसपछिको डिपिआर, लगानीको स्रोत र सरकारी निर्णयले मात्रै परियोजना कार्यान्वयनको वास्तविक दिशा तय गर्नेछ।