गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो।
गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको फूलपातीसहितको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए। परम्पराअनुसार गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा हर्षबढाइँसहित भित्र्याइनेछ।
नेपालीको महान् चाड बडादसैँअन्तर्गत फूलपातीको दिन गोरखाबाट काठमाडौं फूलपाती पठाउने परम्पराको विशेष ऐतिहासिक तथा सांस्कृतिक महत्त्व छ। ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौं विजय गरी राजकाज सञ्चालन गर्न थालेपछि गोरखा दरबारबाट हरेक वर्ष हनुमानढोका दरबारमा फूलपाती पठाउने परम्परा सुरु भएको हो।
यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक सम्बन्धलाई जीवन्त राख्दै आएको छ। फूलपाती भित्र्याउने क्रममा हनुमानढोकामा गरिने विशेष विधि र हर्षबढाइँले दसैँको सांस्कृतिक रौनकलाई थप उचाइ दिने गरेको छ।
फूलपातीका अवसरमा विभिन्न फूल तथा वनस्पतिलाई विधिपूर्वक दसैँघरमा भित्र्याउने धार्मिक परम्परा रहिआएको छ। यसलाई दुर्गा भवानीको आराधना, शक्ति र समृद्धिको प्रतीकका रूपमा लिइन्छ।
गोरखाबाट काठमाडौं फूलपाती पठाउने परम्पराले नेपाली इतिहास, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जोड्दै आएको छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यो परम्परा बडादसैँको महत्त्वपूर्ण सांस्कृतिक पक्षका रूपमा स्थापित छ।



