बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

1.1k Shares

काठमाडौं, ३० असोज । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको सम्बन्धित कार्यालयले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएको थियो। ती सबै पुलको मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार बाढीबाट क्षति पुगेका पुलमध्ये ११ वटामा ठूलो क्षति भएको थियो भने सातवटामा सामान्य क्षति पुगेको थियो। बढी क्षति भएका पुलमा लट्ठा बटारिने, पुलको डेक तथा बिम बगाउने र छेउका जाली नष्ट हुने समस्या देखिएको थियो।

ठूलो क्षति पुगेका ११ वटा पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली पुनः राख्ने काम गरिएको बुढाथोकीले बताए। बाँकी सातवटा पुलमा आवश्यक सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

नुवाकोट, धादिङ र आसपासका जिल्लाका पुल मर्मत

बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल तथा बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल रहेका छन्।

त्यसैगरी धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने पुल, नुवाकोटको बेलकोटगढी–५ को केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने पुल तथा सिद्धलेक–६ र गजुरी–१ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको छ।

धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार पुल, गल्छी–१ र वडा नं. ४ जोड्ने पुल, गल्छी–२ र वडा नं. ४ जोड्ने शीतलबजार क्युरेनीटार पुल तथा नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट पुल पनि मर्मतपछि सञ्चालनमा आएका छन्।

यसैगरी गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलमा समेत बृहत् मर्मत गरिएको कार्यालयले जनाएको छ।

सामान्य क्षति पुगेका पुल पनि सञ्चालनमा

सामान्य मर्मत गरिएका पुलमा गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल, धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प पुल तथा सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल रहेका छन्।

त्यस्तै, धादिङको गल्छी–२ र वडा नं. ४ जोड्ने बेल्खु भुतिया पुल, गल्छी–२ र वडा नं. ४ जोड्ने महादेवस्थान पुल, गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) पुल तथा गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ पुलको पनि सामान्य मर्मत गरिएको छ।

बाढीबाट क्षतिग्रस्त पुलहरूको मर्मत सम्पन्न भएसँगै नदी वारपार गर्न झोलुङ्गे पुलमा निर्भर स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय आवागमन र दैनिक जनजीवनमा बाढीका कारण परेको अवरोध कम गर्न पनि मर्मतले सहयोग पुग्ने देखिएको छ।

सम्बन्धित समाचार