काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले आगामी संस्करणको एनपीएललाई नयाँ स्वरूप र फरक रणनीतिका साथ अघि बढाउने तयारी गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले एनपीएलले आईसीसीको आधिकारिक मान्यता पाएपछि नेपाली क्रिकेटको उचाइ बढेको बताए। उनले प्रतियोगितालाई व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने धारणा राखे।
खड्काका अनुसार एनपीएलमा आईसीसीको एन्टी करप्सन कोड पूर्ण रूपमा लागू गरिनेछ। स्पट फिक्सिङ, म्याच फिक्सिङ तथा अन्य नियम उल्लङ्घनका घटनामा आईसीसीका अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार सम्बन्धित नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको छ।
प्रतियोगिताको निष्पक्षता कायम राख्न भ्रष्टाचारविरुद्धका नियम कार्यान्वयनमा विशेष ध्यान दिइने क्यानले जनाएको छ। एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय प्रतियोगिताका रूपमा स्थापित गर्न नियमन र अनुशासनलाई प्राथमिकता दिइने खड्काको भनाइ छ।
प्रत्येक टोलीमा सात नेपाली खेलाडी अनिवार्य
क्यानका अनुसार एनपीएलमा प्रत्येक टोलीले अनिवार्य रूपमा सात जना नेपाली खेलाडी खेलाउनुपर्नेछ। त्यस्तै, टोलीमा अधिकतम आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ।
नेपाली र विदेशी खेलाडीको सहभागितासम्बन्धी यो प्रावधानले घरेलु खेलाडीलाई प्रतियोगितामा अवसर प्रदान गर्ने र विदेशी खेलाडीको अनुभवबाट नेपाली क्रिकेटले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
नोभेम्बरमा नेपालमा आईसीसी एसिया सम्मेलन
यसैबीच, क्यानका सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने जानकारी दिएका छन्।
सम्मेलनमा एसियाली राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनका क्रममा नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको समग्र विकासका विषयमा छलफल हुने खड्काले बताए।
एनपीएलले आईसीसीको आधिकारिक मान्यता पाउनु र नेपालमा एसिया सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँग जोडेर हेरिएको छ। प्रतियोगिताको प्रभावकारी सञ्चालन, खेलाडीको विकास र भ्रष्टाचारविरुद्धका नियमको कार्यान्वयनले नेपाली क्रिकेटको विश्वसनीयता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेछ।