दसैँको रौनकसँगै बुढासुब्बा मन्दिरमा बढ्यो चहलपहल

827 Shares

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा महानवमीका अवसरमा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। दुर्गा भवानीको विशेष पूजा गर्दै कुखुराको भाले बलि चढाउने परम्परा रहेकाले बिहानैदेखि मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो।

मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनले यहाँ पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्दै पूजाआराधना गर्ने गरेका छन्।

बुढासुब्बा मन्दिरमा पूर्वी नेपालका विभिन्न जिल्लाबाट मात्रै नभई भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन्।

तरहराकी निर्मला बस्नेत दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै मन्दिर पुगेकी छन्। मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले बताइन्।

मन्दिरमा भक्तजनको चहलपहल बढेसँगै स्थानीय व्यापारसमेत फस्टाएको छ। करिब ३० वर्षदेखि मन्दिर परिसरमा व्यापार गर्दै आएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताए।

महानवमीका दिन भक्तजनको भीड बढ्दा व्यापार पनि बढेकोमा उनी खुसी छन्। उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न प्रकारका खेलौना बिक्री गर्दै आएका छन्।

बुढासुब्बा मन्दिरसँग जोडिएको अर्को रोचक परम्परा बाँसमा नाम लेख्ने चलन हो। करिब एक दशकअघिसम्म बाँसमा आफ्नो र प्रियजनको नाम लेख्दा प्रेम अमर हुने जनविश्वास थियो। समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ। त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र माला बाँध्ने क्रम बढेको छ।

मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा तथा फलफूल चढाएर पूजा गर्ने गर्छन्। भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ। पोथी कुखुरा उपलब्ध नभए अण्डा चढाउने चलन रहेको छ।

विजयपुर क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ प्रसिद्ध दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायतका मन्दिर रहेका छन्। बडादसैँका अवसरमा यी मन्दिरमा पनि भक्तजनको चहलपहल बढ्ने गरेको छ।

सम्बन्धित समाचार