काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया गर्भवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको जनाएको छ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले जटिल प्रसूति समस्या भएका तथा तत्काल उपचार र सहयोग आवश्यक पर्ने गर्भवती एवं सुत्केरी महिलालाई हवाई उद्धारमार्फत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउँदै आएको छ।
दुर्गम क्षेत्रका महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन यस्तो उद्धार कार्यक्रमले सहयोग गर्दै आएको छ।