काठमाडौं। समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै समाजसेवी दीपक आचार्य नेपाल प्रहरीबाट सम्मानित भएका छन्।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको हो।
समाजसेवामा सक्रिय आचार्यले प्रहरीबाट प्राप्त सम्मानले आफूलाई थप उत्साहित बनाएको बताएका छन्। उनले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाज र जनताप्रतिको थप जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्।
शान्ति, सुरक्षा र न्याय स्थापनाका लागि अहोरात्र खटिने नेपाल प्रहरी तथा समाज रूपान्तरणका लागि क्रियाशील नागरिकबीचको सहकार्यले सभ्य, सुरक्षित र विकृति-विसङ्गतिमुक्त समाज निर्माण गर्न सकिने आचार्यको भनाइ छ।
दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने, अन्यायविरुद्ध आवाज उठाउने र सकारात्मक परिवर्तनका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्मानले आफ्नो सेवाभावलाई थप दृढ बनाएको बताएका छन्।
“सम्मानले हौसला बढाउँछ, जनताको विश्वासले जिम्मेवारीबोध गराउँछ र सेवाभावले समाज रूपान्तरणको बाटो खोल्छ,” आचार्यले भनेका छन्।