दसैँपछि काठमाडौं फर्किनेको लर्को, उपत्यका प्रवेश गर्ने नाकामा सवारी चाप बढ्यो

883 Shares

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकामा सवारीसाधनको चाप बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ बिदा सकेर घरबाट फर्किने यात्रुको सङ्ख्या बढेसँगै विभिन्न सडकखण्डमा आवागमनको चाप देखिन थालेको हो ।

नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप बढेको प्रहरीले जनाएको छ ।

आवागमन सहज बनाउन निगरानी बढाइयो

उपत्यका फर्किने यात्रुको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी व्यवस्थापन तथा सडक निगरानीलाई तीव्र बनाएको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रमुख नाकामा निगरानी बढाइएको कार्यालयले जनाएको छ ।

उपत्यकाका प्रमुख प्रवेश नाकामा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

दसैँमा साढे पाँच लाखभन्दा बढी बाहिरिएका थिए

यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए ।

दसैँ बिदा सकिएसँगै उनीहरू क्रमशः उपत्यका फर्किन थालेका हुन् । यात्रुको चाप अझै बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले सवारी नियम पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार