सुर्खेत । लामो समयदेखि अन्योलमा रहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तयारी तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटन र समापन समारोह आयोजना हुने १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्पन्न भएको छ ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आवश्यक तयारी अघि बढाएका छन् ।
निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशले खेल पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो । सोहीअनुसार वीरेन्द्रनगरमा आधुनिक सुविधासहितको रंगशाला निर्माण गरिएको हो ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गरिनेछ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ । लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिताको मिति नजिकिँदै जाँदा कर्णालीमा खेलकुदसम्बन्धी गतिविधि पनि बढ्न थालेका छन् ।
निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न पूर्वाधार व्यवस्थापन, खेल सञ्चालन र अन्य आवश्यक तयारीलाई तीव्रता दिइएको आयोजक पक्षले जनाएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेल पूर्वाधारको उपयोग बढाउनुका साथै प्रदेशको खेलकुद विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।