काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल उपलब्ध गराउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
ग्यास बिक्री गरेपछि विक्रेताले उपभोक्तालाई बिलबिजक नदिने गरेको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना विक्रेतामार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको छ।
निगमले ग्यास उद्योगहरूलाई पठाएको पत्रमा नियुक्त विक्रेताहरूले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको उल्लेख गरेको छ। त्यसैले विक्रेतालाई आवश्यक निर्देशन दिई बिल उपलब्ध गराएर मात्रै ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउने विषयमा निगमले यसअघि पनि सम्बन्धित उद्योग तथा संघसंस्थालाई पत्राचार गरेको जनाएको छ। निगमका अनुसार यससम्बन्धी निर्णय कार्यान्वयनका लागि २०८१ साउन ३० गते र २०८१ माघ १० गते पनि सम्बन्धित निकायलाई पत्राचार गरिएको थियो।
ग्यास खरिद गर्दा उपभोक्ता ठगिने, अनियमितता हुने तथा कालोबजारी बढ्ने जोखिम न्यूनीकरण गर्नुका साथै बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले बिल अनिवार्य गरिएको निगमले जनाएको छ।
भ्याट बिल उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा उपभोक्ताले ग्यास खरिद गरेको प्रमाण पाउनुका साथै कारोबारमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निगमले ग्यास उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेताको गतिविधि नियन्त्रण र नियमन गर्नसमेत आग्रह गरेको छ। 