काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित निकायले सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ गतेदेखि नै देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
चक्रवातको प्रभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। ती क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
विशेषगरी पदयात्रा, पर्वतारोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न व्यक्तिहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्नेमा जोड दिइएको छ। हिमपात र हिमआँधीका कारण बाटो अवरुद्ध हुन सक्ने तथा हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान सुझाव दिइएको छ।
त्यस्तै, भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा नदी तथा खोलाको किनार, बाढी र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई समेत सतर्क रहन आग्रह गरिएको छ। वर्षाका कारण जनजीवन, यातायात तथा दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने देखिएको छ।
सम्बन्धित निकायले मौसमसम्बन्धी आधिकारिक पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेका छन्। मौसम प्रतिकूल हुने अवस्थामा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमको संकेत देखिएमा सुरक्षित स्थानमा जान सुझाव दिइएको छ।
आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले चक्रवातको गति, दिशा र तीव्रताका आधारमा यसको प्रभावसमेत फरक पर्न सक्छ। त्यसैले पूर्वानुमानलाई ध्यानमा राख्दै सतर्कता अपनाउन र अपुष्ट सूचनाको पछि नलाग्न सम्बन्धित निकायले आग्रह गरेका छन्।