भोटेकोशी बाढीमा २१ अर्बको बीमा दाबी, भुक्तानी ८२ करोड मात्रै

736 Shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको भौतिक तथा आर्थिक क्षतिबापत बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँको दाबी परेको छ। तर, दाबीको तुलनामा बीमा भुक्तानी निकै कम भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार सन् २०२६ अगस्ट १० मा आएको बाढीबाट भएको क्षतिबापत विभिन्न निर्जीवन तथा लघुबीमा कम्पनीमा २ हजार ४२१ वटा दाबी दर्ता भएका छन्। असोज १४ सम्मको प्रारम्भिक विवरणअनुसार कुल अनुमानित क्षति २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ पुगेको छ।

प्राधिकरणको तथ्यांकअनुसार सेप्टेम्बर ३० सम्म बीमा कम्पनीहरूले अग्रिम तथा अन्तिम भुक्तानी गरी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्। दसैँ बिदापछि कार्यालयहरू सोमबारदेखि मात्रै नियमित सञ्चालनमा आएकाले कम्पनीहरूले थप विवरण अद्यावधिक गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

 

सम्पत्ति बीमामा सबैभन्दा ठूलो दाबी

बीमाको प्रकारअनुसार सबैभन्दा बढी रकमको दाबी सम्पत्ति बीमामा परेको छ। यस शीर्षकमा ५७६ वटा दाबीमार्फत ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ। यसमध्ये हालसम्म १६ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, जलविद्युत् आयोजना तथा पूर्वाधार निर्माणसँग सम्बन्धित इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १७४ वटा दाबी परेका छन्। ती दाबीको अनुमानित रकम ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको छ। यसमध्ये १७ करोड ४० लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

बाढी तथा पहिरोका कारण सवारीसाधनमा समेत ठूलो क्षति पुगेको छ। मोटर बीमामा सबैभन्दा धेरै १ हजार ६७ वटा दाबी परेका छन्। ती दाबीको कुल अनुमानित रकम २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ। यसमध्ये २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ।

 

पारवहन बीमामा तुलनात्मक रूपमा बढी भुक्तानी

पारवहन तथा ढुवानी बीमाअन्तर्गत १०५ वटा दाबीमार्फत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ। यस शीर्षकमा हालसम्म २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, अन्य बीमा शीर्षकमा ५१६ वटा दाबीमार्फत १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ५३ वटा दाबीमार्फत २४ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

बाढीले निजी सम्पत्ति, व्यापारिक संरचना, सवारीसाधन, जलविद्युत् आयोजना तथा निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएको थियो। त्यसैले क्षतिको वास्तविक मूल्यांकन र दाबी भुक्तानी प्रक्रियामा प्राविधिक अध्ययन आवश्यक पर्ने देखिएको छ।

 

हिमालयन एभरेस्टमा सबैभन्दा बढी रकमको दाबी

बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ। कम्पनीमा २०९ वटा दाबीमार्फत ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरिएको छ। यसमध्ये कम्पनीले २३ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सानिमा जिआइसी इन्स्योरेन्समा ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेको छ भने हालसम्म ७६ लाख रुपैयाँ भुक्तानी भएको छ।

दाबीको संख्याका आधारमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीमा ४५९ वटा दाबीमार्फत २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ। यसमध्ये २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी प्राप्त गरेकोमा २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

 

दाबी भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

बाढी प्रभावित बीमितलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई तत्काल सर्भेयर खटाएर क्षतिको मूल्यांकन गर्न तथा आवश्यकताअनुसार अग्रिम भुक्तानी उपलब्ध गराउन निर्देशन दिएको छ।

बीमा कम्पनीहरूले भने क्षतिको स्थलगत मूल्यांकन, आवश्यक कागजात संकलन, बीमालेखको सर्त परीक्षण र क्षतिको वास्तविक रकम निर्धारण गर्ने प्रक्रिया जारी रहेको जनाएका छन्।

विशेषगरी ठूला जलविद्युत् आयोजना तथा निर्माणाधीन पूर्वाधारमा भएको क्षतिको मूल्यांकन गर्न समय लाग्ने भएकाले दाबी र भुक्तानीबीच ठूलो अन्तर देखिएको हो। प्रभावित व्यवसायी तथा बीमितलाई राहत दिन भुक्तानी प्रक्रियालाई तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार